फेवा किनारमा पोल गाड्ने काम सकियो

अब तालघर क्षेत्रमा परेका तथा ६५ मिटरभित्रका कित्ताहरूको वर्गीकरण गरेर कुन मुआब्जा पाउने र बदर हुने छुट्याइने

केन्द्रभाग मिडिया

पोखरा ।

फेवा तालको संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश बमोजिम तालको संरक्षणको क्रम ढिलै भएपनि कार्यान्वयनमा अगाडि बढेको छ । फेवातालको सिमाना  पोल मार्फत छुट्याउने काम सकिएको छ ।

पोल गाड्ने काम आज (३२ असार) मा सम्पन्न भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । प्राविधिक टोलीले मार्किङ गरेका १०५५ पोईन्ट मध्ये, पोल गाड्न सकिने स्थानहरूमा पोल गाडी, भिरालो भूभागमा आवश्यक चिन्हांकनसहित १.५ महिनामा कुल १०५५ पोल गाड्ने कार्य सफलतापूर्वक सम्पन्न गरिएको उनले बताए ।

फेवातालको सिमानामा गत १७ जेठको शनिबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका प्रमुख धनराज आचार्य र कास्कीका तत्कालिन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पहिलो, दोस्रो र तेस्रो नम्बरका पोल गाडेर यसको सुरुवात गरेका थिए ।

यो कार्य सम्मानित सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्न, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको समन्वयमा, महानगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र स्थानीय जनसमुदायको सक्रिय सहभागितामा सम्पन्न भएको भन्दै महानगर प्रमुख आचार्यले सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् ।

प्रमुख आचार्यका अनुसार अब दोस्रो चरणमा तालघर क्षेत्रमा परेका तथा ६५ मिटरभित्रका कित्ताहरूको वर्गीकरण हुने र कुन मुआब्जा पाउने अनि कुन बदर हुने छुट्याइने छ । प्रमुख आचार्यले तत्पस्चात तेस्रो चरणमा मुआब्जा योग्य कित्ताहरूको क्षतिपूर्ति सिफारिस गर्ने र मुआब्जा प्राप्त गरेपछि मात्र जग्गा खाली गरिने प्रष्ट पारेका छन् ।

  • ३२ असार २०८२, बुधबार १६:४८ प्रकाशित