म्याग्दी ।
भोलि शुक्रबारदेखि बेनी–जोमसोम सडक दैनिक ६ घण्टा हुने भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ६ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिए ।
‘चैते दशैंको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुने पन्तले बताएका छन् ।
निर्माण व्यवसायीले बेनी–जोमसोमकोरला सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए ।
म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारी साधनले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ । एम्बुलेन्स र अत्यावश्यक सवारी साधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ ।