काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक समीकरणमा फेरबदल भएपनि सरकारको नेतृत्व भने नफेरिने बताएका छन् । वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने बताउँदै उनले यस्तो दाबी गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक समीकरणमा फेरबदल आए पनि सरकारको नीतिमा परिवर्तन नभएको बताए ।
‘यस बीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ । तर, सरकारको नेतृत्व र नीति फेरिँदैन । हिजो हामीले जुन प्राथमिकता निर्धारण गरेका छौं, सामाजिक न्याय, सुशासन र समृद्धि । त्यसमा हामी दृढ भएर अगाडि जान्छौं’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मन्त्रीहरू फेरिनुहुन्छ । तर, सरकारको नीतिगत प्राथमिकता फेरिँदैन । त्यसैले आफ्नो काममा दत्तचित्त भएर लाग्नुस्, परिणाम दिनुस् ।’