उपराष्ट्रपतिमा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि उपराष्ट्रपति निर्वाचनको तयारी तिव्र बनिरहेको छ । यसैबीच निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनको अनिवार्य महिला उम्मेदवारी मात्र दर्ता गर्न निर्वाचन आधिकृतलाई निर्देशन दिएको छ ।

उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन २७ गते हुने उम्मेदवारको मनोनयनपत्र दर्ताका क्रममा पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिईएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातोपाटीलाई जानकारी दिए ।

रातोपाटीसँग कुरा गर्दै प्रमुख आयुक्त थपलियाले भने–‘राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलज्यू पुरुष तथा खस आर्य समुदायको भएकोले सो भन्दा बाहेक सो भन्दा बाहेकको लिङ्ग अर्थात लिङ्गका आधारमा महिला र अन्य लिङ्ग बाँकी रहे । पुरुष र महिला बाहेक अन्य लिङ्ग पनि छन् । अझ स्पष्ट पार्दा लैङ्गिक आधारमा पुरुष, महिला र अन्य लिङ्ग भएकोले अब पुरुष बाहेक अन्य लिङ्गी, समुदायमा खस आर्यबाट राष्ट्रपति भएकोले त्यो बाहेकका ५ वटा समुदायबाट मात्र मनोनयन दर्ता गर्नु भनेर निर्देशन दिएका छौँ ।’

उनले अब उपराष्ट्रपतिमा पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता नहुने प्रष्ट पार्दै भने– ‘अब पुरुषको उम्मेदवारी दर्ता हुँदैन । उनीहरुले बुझेनन् भने तदअनुसार हामी निर्णय गरेर पठाइदिन्छौँ । उम्मेदवारी दर्ताका लागि आयोगको निर्देशन चाहन्छन् भने आजसम्म दलहरुले आयोगमा सम्पर्क राख्न सक्छन्, भोलिदेखि भने त्यो पनि मिल्दैन ।’

  • २६ फाल्गुन २०७९, शुक्रबार १४:३२ प्रकाशित