आज राष्ट्रपति निर्वाचन : आजै परिणाम, सोमबार शपथ

केन्द्रभाग मिडिया

काठमाडौं ।

देशको तेस्रो राष्ट्रपति चुन्न आज(बिहीबार) निर्वाचन हुदैंछ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुँदै छ । राष्ट्रपति निर्वाचनको मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा हुने निर्वाचन आयोगले जनाएको छ । मतगणनाको परिणाम साँझ ७ बजेसम्म आइसक्ने आयोगले जनाएको छ । नयाँ राष्ट्रपतिको शपथग्रहण सोमबार हुने जनाइएको छ । त्यसपश्चात निवर्तमान राष्ट्रपतिको बिदाइ हुनेछ ।

मतदानका लागि ल्होत्से हलमा दायाँतर्फ संघीय संसद् र बायाँतर्फ प्रदेश सभाका लागि मतदान केन्द्र व्यवस्थापन छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार तीन सय ३२ मतदाता रहेको संघीय संसद्को मतदान केन्द्रमा एउटा मतपेटिका राखिएको छ । पाँच सय ५० मतदाता रहेको प्रदेश सभातर्फ दुईवटा मतपेटिका राखिएको छ । निर्वाचनमा संघीय सांसदको एक मतबराबर ७९ र प्रदेश सभा सदस्यको एक मतबराबर ४८ मतभार कायम गरिएको छ । मतदान केन्द्रमा १४ जना कर्मचारी खटाइएको छ ।

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले राष्ट्रपतिको निर्वाचनका लागि करिब ९ सय जना जनशक्ति परिचालन गरिएको जानकारी दिए । एसएसपी कार्कीले फरार सूचीमा रहेका मतदाताहरुलाई समेत निगरानी गरिने बताए ।

  • २५ फाल्गुन २०७९, बिहीबार ०७:३१ प्रकाशित