परिवर्तनका विरुद्ध हुने गतिविधिको एकमतले प्रतिवाद गर्छौं : माओवादी घटक

केन्द्रभाग मिडिया

काठमाडौं ।

माओवादी धारका नेताहरूले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिको एकमतले प्रतिवाद गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रचण्डविरुद्धको मुद्दाले सशंकित बनेका माओवादी धारका नेताको बालुवाटारमा बसेको संयुक्त बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।

शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानूनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न संयुक्त बैठकले सरकारसमक्ष मागसमेत गरेको छ ।

‘संक्रमणकालीन न्यायको प्रक्रिया विपरितका काम कारबाहीहरूले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुर्‍याउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौं’, बालुवाटार बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ’ ‘शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्न हामी एकमत छौं । साथै विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा समेत प्रतिवद्ध छौं ।’

  • २३ फाल्गुन २०७९, मंगलवार ११:१८ प्रकाशित