बालुवाटारमा माओवादी धारका नेताहरुको बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी धारका नेताहरुको बैठक जारी रहेको छ । बिहान साढे ८ बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपा अध्यक्ष डा। बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीकाका नेता सिपी गजुरेल, नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुती लगायत बैठकमा सहभागी छन् ।

माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल पनि सहभागी छन् ।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयमा कुराकानी हुने बताइएको छ ।सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डलाई तीन वर्ष पहिला सार्वजनिक कार्यक्रममा बोलेको अभिव्यक्तिलाई लिएर मुद्दा दर्ता गर्न आदेश दिएसँगै माओवादी धारका नेताहरुको बैठक पहिलो पटक संयुक्त रुपमा बसेको हो ।

केही दिनअघि भएको एक कार्यक्रममा पनि माओवादी धारका नेताहरुले प्रधानमन्त्रीविरुद्धको मुद्दामा माओवादी चुप लागेर नबस्ने चेतावनी दिइसकेका छन् ।

‘जनयुद्धकालीन’ मुद्दा उठ्न थालेपछि माओवादी धारका पार्टीहरू एकै ठाउँमा छलफलमा जुटेका छन् ।

  • २३ फाल्गुन २०७९, मंगलवार १०:२८ प्रकाशित