काठमाडौं ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीले फेरि पनि विजयको यात्रा सुरु गर्न सक्ने बताएका छन् ।
दाहालले आफूहरूविरुद्ध षडयन्त्र भइरहेको बताउँदै फेरि माओवादी एक ठाउँमा हुने हो भने फेरि एकपटक विजयको यात्रा तय गर्न सक्ने दाबी गरेका हुन् । माओवादीहरू विभिन्न धारमा विभाजित भएको अवस्था हुँदा पनि बलियो रहेको थाहा पाएर नै षडयन्त्र भइरहेको उनको भनाइ थियो ।
सहिद तथा बेपत्ता योद्धा फाउन्डेसनले सहिद सप्ताहको अन्तिम दिनमा आइतबार आयोजित कार्यक्रममा काठमाडौंमा प्रधानमन्त्री दाहालले भने, ‘माओवादीहरू एकठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी तत्वहरू निकै कमजोर छन्, ‘माओवादीले फेरि एकचोटि विजयको नयाँ यात्रा सुरु गर्न सक्छ भन्ने मेरो विश्वास छ ।’
प्रधानमन्त्री दाहालले माओवादीविरुद्ध षडयन्त्र भएको बताएका छन् । ‘हामी कमजोर भएको कारणले होइन, माओवादी आन्दोलन र त्यसको प्रभाव अहिले विभिन्न धारामा भएपनि तिनीहरू एक ठाउँमा हुँदा त्यो जबर्जस्त प्रभाव छ भन्ने बुझेर नै प्रतिक्रियावादीहरूले विभिन्न खालका षडयन्त्र गर्ने, घेरा हाल्ने गरिराखेका छन् । हिजो जनयुद्धको अन्तिम समयतिर पनि देखिएकै कुरा हो,’उनले भने, ‘हामी अहिले एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकता बोध गरिएको छ, त्यो एउटा शक्ति हो ।’