निर्वाचन आयुक्तका आवासमा खटिने पीएसओले पनि थप शत प्रतिशत तलब सुविधा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयुक्तका आवासमा रहने सुरक्षाकर्मी, आयुक्त र सचिवका निजी सुरक्षा अधिकारी (पीएसओ)ले पनि थप शत प्रतिशत तलब सुविधा पाउने भएका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन (आर्थिक) कार्यविधि २०७९ अनुसार निर्वाचनको काममा संलग्न, आयुक्त, आयोगको सचिवालयमा कार्यरत काज तथा सेवा करारसमेतका कर्मचारीलाई थप शत प्रतिशत सुविधा पाउने भएका हुन् ।

आयोगका अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन तोकिएको मिति २०७९ माघ १६ गतेदेखि मतगणना कार्य सम्पन्न भएको एक साता अर्थात २०७९ चैत पहिलो सातासम्म प्रतिमहिना प्राप्त गर्ने सुविधामा थप शत प्रतिशत सुविधा उपलब्ध गराइनेछ । जसमा आयुक्तले सुरु तलब स्केलको शत प्रतिशतसहित सञ्चार सुविधा २ हजार ५ सय प्राप्त गर्नेछन् ।

आयोगका सचिव, सहसचिव र उपसचिवले सुरु तलव स्केलको शत प्रतिशतसहित सचिवले २ हजार, सहसचिवले १ हजार ५ सय र उपसचिवले १ हजार सञ्चार सुविधा खर्च पाउनेछन् ।

सचिवालयमा कार्यरत काज तथा सेवा करारसमेतका कर्मचारीले भने सुरु तलब स्केलको शत प्रतिशतमात्रै प्राप्त गर्नेछन् ।

निर्वाचन कार्यालयमा कार्यरत कर्मचारी, आयुक्तको आवासमा खटिने सुरक्षाकर्मी, आयुक्त र सचिवका पीएसओ, निर्वाचन अधिकृतको कार्यालयमा कार्यरत काज तथा सेवा करारसमेतका कर्मचारी, निर्वाचन अधिकृतका पीएसओ निर्वाचन अधिकृतको कार्यालयमा खटिएका सुरक्षाकर्मी, आयोगको कार्यालय भवन तथा परिसर, निर्वाचन कार्यालयको भवन, मतपत्र छपाइ स्थल र निर्वाचन सामग्री ढुवानीको सुरक्षामा खटिएका सुरक्षाकर्मी पनि सुरु तल स्केलको शत प्रतिशत प्राप्त गर्नेछन् ।

निर्वाचन अधिकृतलाई भने एकमुष्ट २ हजार सञ्चार सुविधा खर्च उपलब्ध गराइनेछ ।

  • १९ फाल्गुन २०७९, शुक्रबार १४:३३ प्रकाशित