पोखरा ।
पोखरा देखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी भएको छ। बुद्ध एयरले आगामी मार्च ९ अर्थात फागुन २५ देखि सिधा हवाई उडान भर्ने तयारी गरेको हो ।
बुद्ध एयरका स्टेशन म्यानेजर गौतम बरालले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध रहेको बताए ।
म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार स्थानमा उडान भर्नेछन् ।
काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाइ उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ ।
पोखरा–भद्रपुर सिधा उडान नहुँदा यहाँ आउने यात्रुले सास्ती खेप्नु परेकाले यात्रुको सहजताका लागि सिधा उडान सञ्चालन गर्न लागिएको उनले बताए ।
योसँगै बुद्ध एयरले मार्च ९देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि सुरु गर्दैछ ।अहिले पोखरा–भद्रपुर हवाई उडानबाट भने ७० मिनेटमै यात्रा गर्न सकिने र हवाई भाडा पनि रू नौ हजार छ सय ८५ रहेको छ ।सडक यात्रा गर्दा करिब १८ घण्टा लाग्छ र भाडा २४ सय देखि २७ सयसम्म तिर्नुपर्छ ।