विद्यार्थी अचानक बेहोस हुन थालेपछि विद्यालय बन्द

केन्द्रभाग मिडिया

नवलपरासी ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको परासीस्थित विद्यालयमा पठनपाठन बन्द भएको छ । परासीस्थित आदर्श माविका छात्राहरु अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको हो । हिजो र आज लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले दुई दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिए ।

विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत छात्रामा बेहोस हुने समस्या देखिएको उनको भनाइ थियो । ‘आइतबार विद्यालयमा प्रार्थनाको समयमा छ छात्रा बेहोस भएका थिए’, उनले भने, ‘आज विद्यालय सुरु हुन लाग्दा थप दश छात्रा बेहोस भएपछि पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि उनीहरुलाई पठाइएको छ ।’

रोग पत्ता नलागेकाले अन्य विद्यार्थीलाई सङ्क्रमण नहोस् भनेर नगरपालिकाको समन्वयमा आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ ।अस्पतालमा हाल दश छात्रा उपचाररत रहेका र सङ्ख्या बढ्दै जानसक्ने पृथ्वीचन्द्र अस्पतालका मेसु डा मोहम्मद नुरुल होदाले बताए।

  • १५ फाल्गुन २०७९, सोमबार १४:३५ प्रकाशित