सरकारबाट बाहिरिने एमालेको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमाले सरकारबाट बाहिरिएको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । गत १० पुसमा भएको सहमति विपरित सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले कांग्रेसलाई राष्ट्रपतिमा सघाउन मोर्चा बनाएपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

यस अघि एमालेले आफू १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेपछि एमाले रुष्ट बन्दै तत्काल सरकारबाट बाहिरिने निर्णय लिएको विश्लेषण गरिएको छ ।

अधैर्यतापूर्वक निर्णय नगर्ने भनेर आफूहरुले सरकारमा रहेर काम गर्ने सोच बनाए पनि प्रधानमन्त्रीले एमाले र एमालेका मन्त्रीहरुका सन्दर्भमा दिएको अभिव्यक्ति र व्यवहारका कारण सरकार छाड्ने निर्णयमा पुगेको उपाध्यक्ष विष्णु पौडेलले बताए ।

‘मन्त्रिपरिषदको निर्णयको आधारमा जेनेभा जान लाग्नु भएका परराष्ट्रमन्त्रीलाई अन्तिम क्षणमा अकारण नजान निर्देशन गर्नु भएको छ,’ पौडेलले भने, ‘हामीलाई सरकार छाड्न, नभए उहाँले हटाउने वा विना विभागीय मन्त्री बनाउने अभिव्यक्ति दिनुभएपछि सरकारमा रहिरहन उचित देखेनौं ।’

  • १५ फाल्गुन २०७९, सोमबार १३:४८ प्रकाशित