निवर्तमान सभापति कृष्ण केसीलाई कारबाही हुन्छ : सभापति बराल (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफ्नो पार्टी कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी माथि कारबाही गरिने बताएका छन् ।

निवर्तमान सभापतिले खुलेआम पार्टी हित विपरित कार्य गरेकाले उनी विरुद्ध कारबाही हुने उनले बताए । शनिबार केन्द्रखबरको कार्यक्रम केन्द्र फोकसमा कुरा गर्दै उनले यस्तो बताएका हुन् । कास्कीको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका सभापति बरालले निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही नगर्ने हो भने पाटी नबन्ने टिप्पणी गरेका छन् ।

कास्की कांग्रेसमा २०५१ को मध्यवदी निर्वाचन देखि लगातार अन्तरघात हुनेक्रम रहेको भन्दै उनले पछिल्लो निर्वाचनमा त्यो प्रबृत्ति एकैपटक विष्फोट भएको धारणा राखे । ‘५१ सालमा अन्तर्घात, ५४ मा अन्तर्घात, त्यसपछि सबै निर्वाचनमा पनि निरन्तर अन्तरघात लगातार भए । तरपनि विरोध गरेर, टिप्पणी गरेर संगठन बलियो हुन्छ भन्ने नै रह्यो ।

कांग्रेस भित्र एक पटक अन्तर्घात गरे अर्को पटक सचिन्छ । अर्को पार्टीसंग त मिलाएर मत माग्नुपर्छ भनेर माफी दिइएकै हो’ उनले भने, ‘तर, अन्तर्घात गरे क्षमा पाइन्छ भन्ने मान्यताको विकास भयो । यो संस्कारको विकास भयो अहिलेको चुनावमा अन्तर्घात ०७९ मा यसको रिफ्लेक्सन सबैभन्दा धेरै देखियो । अब संगै हिँडेर क्षमा दिएर सुधारिने देखिएन । यसमा कुनै सुधार नभएकाले अब अन्तर्घात गरेकालाई नेता मानेर मञ्चमा राखेर हिँड्न सकिन्न ।’

सभापति बरालले अन्तरघात गर्नेहरुलाई कुनै हालतमा नेता मान्न नसकिने र कारबाहीका लागि केन्द्रमा समेत गम्भिरढंगले छलफल भएको बताए । उनले निवर्तमान सभापति केसी पार्टीको अहितमा गएको, कांग्रेसलाई देखाइदिन्छु भनेको र म कम्युनिष्ट बाट विद्रोह गरेर आएको हुँ भनेको आरोप लगाए ।

साथै उनले यसो भन्नेहरुलाई कांग्रेसको नेताको रुपमा नेता मानेर र अंगालो मारेर हिँडे अगामी दिनमा हुने निर्वाचन समेत विग्रने धारणा राखे । सभापति बरालले पार्टीमा अन्तरघात गर्नेहरु अरुधेरै भएपनि निवर्तमान सभापति भएकाले र एक नेता भएकाले पहिलो कारबाही कृष्ण केसीलाई हुने उनको तर्क छ ।

  • १४ फाल्गुन २०७९, आईतवार २२:३५ प्रकाशित