चितवन ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताए ।
उनले भने, ‘हामीले सबै दललाई कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न आह्वान गरेका छौँ । सकारात्मक प्रतिक्रियाहरू आएका छन् ।’ कांग्रेसको राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि बन्न सक्ने उनको भनाइ थियो ।
कांग्रेसको ध्यान अहिले राष्ट्रपतिको निर्वाचनतर्फ भएकाले अहिले नै सरकारमा जाने भन्ने स्थितिमा नरहेको उनले स्पष्ट पारे ।