गौशालामा लुटपाटको उद्देश्यले पुरुषको हत्या, एक पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

मंगलबार विहान काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ ।

प्रहरीले हत्या आरोपमा मोरङका ३२ वर्षका रामबहादुर थापालाई पक्राउ गरेको छ । उनले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले हत्या भएको व्यक्तिको पनि पहिचान गरेको छ । उनी वीरगञ्ज घर भई टोखा बस्ने ध्रुवबहादुर खड्का भएको प्रहरीले बताएको छ ।एसएसपी कार्कीका अनुसार थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

थापाले गौशालाको रुद्रनगर शान्ति मार्गमा खड्काको छातीमा दुबै खुट्टाले हानिरहेको नजिकैको सीसीटीभी फुटेजमा पनि देखिएको प्रहरीले बताएको छ ।

प्रहरीले थापाको साथबाट लुटिएको मोवाइल र पर्स पनि बरामद गरेको छ ।

  • २६ माघ २०७९, बिहीबार १६:१७ प्रकाशित