काठमाडौं ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन् । तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने भनेकाले उनी संकटमा छन् ।
नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।
विश्वासको मत लिनका लागि बिहीबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाइएको छ ।नाउपाले टीकापुर काण्डमा दोषी ठहर भई जेलमा रहेका नेता रेशम चौधरीलगायतका नेताहरुलाई रिहा नगरेसम्म रावललाई विश्वासको मत नदिने अडान लिएको छ ।
नाउपाले साथ नदिए मुख्यमन्त्री रावलले विश्वासको मतका लागि आवश्यक बहुमत संख्या २७ पुर्याउन नसक्ने भएकाले उनी संकटमा छन् ।सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ जना सांसद छन् ।