रौतहट।
रौतहटमा खेतमा दिशा गरेको निहुँमा झडप हुदाँ एक महिलाको ज्यान गएको छ ।
ज्यान जानेमा मौलापुर नगरपालिका ९ सोनरनियाका पनिलाल यादवकी श्रीमती सुगन्धी देवी रहेकी छिन् । खेतमा दिशा गरेको निहुमा झड़प हुँदा ४० वर्षीया सुगन्धीको ज्यान गएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदिलाल कामतिले जानकारी दिएकी छिन्।
घरबाट खेतमा जाने बाटोमा दिशा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारबीच बुधबार साँझ झडप भएको थियो । खुट्टामा दिशा लागेको आक्रोशमा भोला यादव पनिलाल यादवको घरमा गएर उसको श्रीमती सुगन्धि देवीलाई बाँसको भाठाँटाले निर्घात कुटपिट गरेको बताइएको छ।
यादवको कुटपिटबाट गम्भिर घाइते भएकी सुगन्धिलाई उपचारको लागि बिरगञ्ज लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगत्तै ईलाका प्रहरी कार्यालय मौलापुरबाट ईन्स्पेक्टर नन्दकिशोर चौहानको नेतृत्वमा गएको टोलीले भोला यादव परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मुख्य आरोपी भोला यादव भने घटनालगतै फरार भएका थिए। पक्राउ परेका तीनै जना ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको, फरार भोलाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।