पोखरा ।
पोखरा महानगरपालिकाले सडक पार्की रोक्ने निर्णय कार्यान्वय गराउन सरोकारवालासंग छलफल गरेको छ । पोखराको मुख्य बजार क्षेत्र पृथ्वी चोक–सभागृह चोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँ बजार हुँदै पृथ्वी चोकसम्मको सडकमा भइरहेको पार्किङ व्यवस्थापनका विषयमा सरोकारवाला निकायहरूसँग महानगरले छलफल गरेको हो ।
छलफलमा बोल्दै महानगर प्रमुख धनराज आचार्यले बढ्दो ट्राफिक समस्या र पोखराको सौन्दर्करणका लागि सडक पार्कीङलाई व्यवस्थित गर्न महानगर लागेको जानकारी गराएका थिए । सडक पार्कीङलाई हटाउन नसक्दा ट्राफिक व्यवस्थापनका अन्य काम पनि रोकिएको बताए । सडक पार्कीङका कारण महेन्द्रपुलमा ट्राफिक लाइट चलाउन नसकिएको उनले जानकारी गराए ।अनलाइन व्यवसाय प्रति ग्राहकको आकर्षण बढिरहेको समयमा सटर अगाडीनै पार्कीङ गर्न नपाए व्यापार नहुने भन्नु सान्दर्भीक नहुने आचार्यले बताए ।
यातायात व्यवस्था कार्यालय सवारी, कास्ककिा प्रमुख डिल्लीराज रिजालले व्यवसायीले आफ्नो सवारी र कर्मचारीको सवारी सडकमा पार्कीङ गर्नु उपयुक्त नहुने बताए । निजी सवारी साधन दर्ता हुने क्रम बढिरहेकाले सडक पार्कीङ हटाउने यो उपयुक्त समय रहेको बताए । सडक पार्कीङलाई विकल्प सहित हटाउदा आउने रिजल्टका आधारमा थप व्यवस्थित गर्नुपर्ने रिजालको भनाई थियो ।
ट्राफिक व्यवस्था कार्यालय गण्डकीका प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदीले ट्राफिक प्रहरीको सानो संख्याले मात्र ट्राफिक व्यवस्थापन गर्न नसकिने र पोखरामा सवारीको चाप अत्याधिक बढेकाले सडक पार्कीङलाई क्रमस हटाउदै लैजानुपर्ने बताए । सुवेदीले यथास्थितिबाट उठ्नै पर्ने बताए ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले गण्डकी प्रदेशको अनुहार पोखरालाई व्यवस्थित गर्न व्यक्तीवादी सोँच राख्न नहुने बताए । पोखरालाई सुन्दर बनाउने हो भने पोखरेलीले महानगरको याजनालाई साथ दिनुपर्ने उनले बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले महानगरको योजना राम्रो भए पनि पूर्णरुपमा सडक पार्कीङ निषेधलाई तत्काल कार्यान्वय नगर्न आग्रह गरे । व्यवसायी अहिले अप्ठ्यारो अवस्थामा रहेकाले सडक पार्कीङलाई पूर्णरुपमा कार्यान्वयन ल्याउदा थप जटिलता आउने उनको तर्क छ ।
महानगरले गएको सोमबार देखि सडक पार्कीङलाई निरुत्साहीत गर्न सशुल्क पार्कीङ क्षेत्रको व्यवस्थापन गरेको छ । पृथ्वी चोक–सभागृह चोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँ बजार हुँदै पृथ्वी चोकसम्मको सडकमा २७ स्थानमा पार्कीङका लागि व्यवस्थापन गरिएको महानगरपालिकाले जनाएको छ ।