काठमाडौं ।
बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षण राखेको भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका छन् । मुद्दाको अन्तिम फैसला नभई सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामेल गरेको, नेपाल टी–ट्वान्टी लिगमा फिक्सिङ गरेको भन्दै उनीहरूले शनिबार काठमाडौँको माइतीघर क्यानविरुद्ध प्रदर्शन गरेको हो । सन्दीपको बलात्कार मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको बेला क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्दै प्रशिक्षणमा सामेल गरेको हो ।
सन्दीप शुक्रवारबाट नेपाली टोलीको बन्द प्रशिक्षणमा समेत सामेल भइसकेका छन् । प्रदर्शनमा उत्रिएका युवाहरूले उता फिक्सिङ गराउने, यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद, क्यानका लठुवाहरूको बेइमानी, बलात्कार अभियुक्तहरूको जमानी, मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरूले क्यान र सन्दीपलाई बहिष्कार गर्नुपर्ने धारणा समेत राखेका छन् ।
यता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अनुमति दिएपछि सन्दीपलाई टिममा सामेल गरिएको क्यानको भनाई छ । सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । असोज २० गते उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।