माओवादी नेता भन्छन्, ‘रविलाई ‘राम राम’ भन्न सकिन्छ, काँध थाप्न सकिँदैन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहालले रवि लामिछानेलाई राम राम भन्न सकिने तर काँध थाप्न नसकिने बताएका छन् । पाँच वर्ष रवि लामिछानेलाई नै गृहमन्त्री दिनुपर्छ भनेर कुनै लिखित सहमति नभएको भन्दै उनले यस्तो बताएका हुन् ।

‘दुनियाँ पल्टिए पनि, आकाश र धर्ती भासिए पनि पाँच वर्ष रवि लामिछाने नै सँगै हुनुपर्छ वा रविलाई नै गृहमन्त्री दिनुपर्छ भनेर कुनै लिखित सहमति भएको छैन । सत्ता गठबन्धनमा सहमति होइन, सामान्य समझदारी भएको हो । सहमति नै नभएको विषयलाई प्रचण्डले किन तोड्नुपर्‍यो ।’उनले भने

दाहालले भने, ‘सरकारलाई अप्ठ्यारो पर्ला भनेर ओलीजीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको हो । तर उसैले अप्ठ्यारो पार्न त मिल्दैन नि । जो सांसद छैन, नागरिकता र राहदानीको विवाद छ, उसैलाई यही परिस्थितिमा गृहमन्त्री दिन सकिँदैन । अनि ४८ घन्टे अल्टिमेटम दिने रु केपी शर्मा ओली चुप लागेर नबसे अब प्रचण्ड धुरुधुरु रुँदै हिँड्ने त ?’

दाहालले अहिलेको स्थितिमा रविलाई राम राम भन्नुको विकल्प नभएको पनि औंल्याए । उनले थपे, ‘अप्ठ्यारो मानेर राजनीति गर्न सकिँदैन । जे परिस्थिति आउँछ, सामना गर्दै जानुपर्छ । अहिलेको राजनीतिक पेचिलो छ । सरकार धरापमा परे अरु कुरा पनि धरापमा पर्छन् । हामीले रविलाई राम राम भन्ने हो, काँध थाप्न सकिँदैन । जसको जति छिटो उत्थान हुन्छ, त्यति छिटो पतन पनि हुन्छ । रविलाई अनागरिक अदालतले बनाएको नभई आफैं बनेका हुन् । अदालतले एक्सपोज गरिदिएको मात्र हो ।’

  • २० माघ २०७९, शुक्रबार १०:२८ प्रकाशित