छोरासँग मिलेर श्रीमान्‌को हत्या , ५ वर्षपछि आमाछोरा पक्राउ

केन्द्रभाग मिडिया

सुर्खेत ।

भेरी नगरपालिका- ६ की भद्रकला कामीले छोरासँग मिलेर आफ्नै पतिको हत्या गरेको पाँच वर्षपछि घटना सार्वजानिक भएको छ ।

३० पुस २०७४ मा सिस्नेकी भद्रकलाले लाठी हानेर ४७ वर्षीया काले कामीको हत्या गरेकी थिइन् । भद्रकलासहित छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घरनजिकै शौचालयमा पुरिदिएको प्रहरीले जनाएको छ ।

अनुसन्धान बढाउँदा काले कामीको शव शौचालयमा पुरिएको अवस्थामा भेट्टाएको जाजरकोटका डीएसपी सन्तोष निरौलाले बताए । उनकाअनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरीले घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर शौचालयको खाडल उत्खनन् गर्दा शव भेटिएको थियो ।

प्लाष्टिकको डोरीले बाँधेको अवस्थामा भेटिएको पाइन्ट र ज्याकेटसहितको शवको अस्थिपञ्जरमात्र फेला परेको प्रहरीले बताएको छ । भद्रकला र उनका छोरा तुल्सीराम विकलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

  • १८ माघ २०७९, बुधबार १४:५६ प्रकाशित