पूर्व गृहमन्त्री रवि लामिछानेले पुन : लिए नागरिकता

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्व गृहमन्त्री रवि लामिछानेले पुन नेपाली नागरिकता लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् ।

उनले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिता पुनप्राप्त गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

लामिछानेले २०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । प्रशासनले पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता लामिछानेलाई दिएको हो ।

यसअघि नेपालमा नागरिकता लिए पनि अमेरिका गएपछि उतैको नागरिकता लिएर बसेका लामिछाने गैरपर्यटक भिसामा नेपाल आएका थिए । त्यसपछि उनी यतै बसे । ०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिएका उनले ०७५ असार १४ गते अमेरिकी नागरिकता त्यागेको जानकारी गराएका थिए । तर‚ नेपाली नागरिकताको पुनः प्राप्तिको प्रक्रिया पूरा गरेका थिएनन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सभापति पद पनि गुमाएका थिए ।

  • १५ माघ २०७९, आईतवार १५:३५ प्रकाशित