काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई सहयोग गर्ने कि नगर्ने विषयमा केही दिन कुर्ने भएको छ ।
सरकारलाई सहयोग गर्न एमाले र माओवादी केन्द्रका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव लिएर आएपनि शीर्ष तहबाट कुनै सोधखोज गरिएको छैन । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने जिज्ञसामा सो पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले विश्वास मत दिने अघिल्लो दिन मात्र आफूहरुले त्यसको बारेमा निर्णय गर्ने बताए ।
हालसम्म प्रतिपक्षमा बस्ने कि सत्ता पक्षमा बस्ने निर्णयमा नपुगेका लोसपा सत्ता गठबन्धनको गतिविधिलाई नजिकबाट नियाली रहेको छ । सत्ता पक्षबाट सरकारमा सामेल हुने विषयमा कुनै पनि प्रस्ताव नआएको बताउँदै उनले ती पार्टीका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव गरेका छन् त्यो आधिकारीक जस्तो नदेखिएको बताए ।
आफूहरुले उठाएको माग मुद्दा र एजेण्डा कार्यान्वयन गर्ने प्रतिवद्धता आयो भने सरकारलाई समर्थन गर्ने विषयमा छलफल गर्न सकिने उनले बताए ।