भन्सार घोषणा नभएका मोबाइल आजदेखि नचल्ने

केन्द्रभाग मिडिया

hands texting with mobile phones in cafe

काठमाडौं ।

भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने भएका हुन् ।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडिएमएस लागू गरिएको जनाएको छ ।

विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडिएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरू अब नचल्ने प्राधिकरणले जनाएको छ ।

नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट यही पुस १५ गतेभित्र दर्ता गर्न प्राधिकरणले यसअघि सूचना जारी गरेर आह्वान गरेको थियो । अब भने दर्ता नगरिने र त्यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने प्राधिकरणले जनाएको छ ।

एमडीएमएस के हो ?

मोबाइलको आयातलाई व्यवस्थित र नियन्त्रण गर्ने एमडीएमएस प्रणालीले औपचारिक रूपमा दर्ता भएका र नभएका मोबाइललाई छुट्याउन सघाउँछ । करिब ४० प्रतिशत मोबाइल गैरकानुनी रूपबाट भित्रिएर प्रयोग भइरहेको र त्यसले सरकार, व्यवसायी र उपभोक्ता सबैलाई हानी भइरहेको तर्क गरेर यो प्रणाली स्थापना भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल यो प्रणाली नेपालको मोबाइल बजारलाई पूर्ण वैधानिक बनाउन सहयोगी हुने बताउँछन् । एमडीएमएस नेपालको मोबाइल सेवामा जोडिएका फोनहरूको आधिकारिक तथ्यांक राख्ने प्रणाली हो । मोबाइल फोनको आयातको आधिकारिकता जाँच्न सक्ने गरी स्थापित प्रणाली भएकाले यसबाट भन्सार छलेर नेपालमा मोबाइल भित्रिन नदिने मुख्य उद्देश्य राखिएको छ ।

  • १५ पुष २०७९, शुक्रबार १०:२३ प्रकाशित