पोखरा ।
आज पुस १५ गते, आर्थात गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व विविध कार्यक्रमसहित मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा आज पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले तमु ल्होसारको अवसरमा शुभकामना दिएका छन् । उनले शुभकामना सन्दैश दिँदै स्वदेश तथा विदेशमा रहेका ल्होसार मनाउने समुदायमा शुख, शान्तिको कामना गरेका छन् ।
तमु धिं नेपालको आयोजना र तमु सहयोग समिति पार्दीको व्यवस्थापनमा विहिबार साँझ पोखरा १७ विरोटाचोकस्थित तमु ह्युलाचोकमा दिप प्रज्वलन गर्दै हि ल्हो(बिरालो वर्ग)लाई स्वागत गरिएको छ ।