पोखरा ।
तत्कालिन विद्रोही शक्ति माओवादी र सरकार बीच भएको सशस्त्र संघर्षका क्रममा दुबै पक्षबाट यातना भोगेका पीडितहरुले आफूहरुलाई राज्यले पहिचानसम्म नदिएको भन्दै आक्रोस पोखेका छन् ।
सशस्त्र द्वन्द्व पछि प्राप्त व्यवस्थाले पटक पटक सत्ताको शिखरमा चढेको भएपनि आफूहरुका पीडा बोध नगरेको भन्दै आक्रोस समेत पोखे । कोपिला नेपालले बुधबार विहान आयोजना गरेको यातना पीडितका सवालमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले परिचय पत्र समेत नदिएको भन्दै आक्रोस पोखेका हुन् ।
म्याग्दीका भीमबहादुर रिजालले २०६० सालमा द्वन्द्वको क्रममा आफ्नो परिवारका तीन जना सदस्य गुमाउनु परेको र आफूहरुले यातना भोगेको स्मरण गर्दैै राज्यले परिचय पत्र नदिँदा विमा लगायतका राज्यबाट पाउने सुविधाबाट बञ्चित भएको गुनासो गरे ।
म्याग्दीका अर्का द्वन्द्व पीडित बद्री केसीले माओवादीले आफूहरुलाई भेडा बाख्रा बनाएको टिप्पणी गरे । देश र जनताका लागि आफूहरु युद्धमा होमिएको तर नेताहरुले पटक पटक सत्तामा जाँदा समेत आफूहरुका समस्या नबुझेको उनको भनाई छ । ‘म विशेषगरी माओवादीलाई भन्न चाहन्छु । देश र जनताको लागि भनेर यद्धमा होमियो । हामीलाई भेडा बाख्राजस्तो बनाइयो’ उनले भने, ‘तर पटक पटक सत्तामा जाँदापनि हाम्रा नेताहरुले हाम्रा समस्या सम्बोधन गरेनन् ।’
पर्वतका ज्ञानेन्द्र प्रसाद शर्माले तत्कालिन राज्य र विद्रोही दुबैले आफूहरुलाई टहुरो बनाएको तर परिवर्तन पछि पनि उनीहरु सत्तामा गएको अनुभूति दिन नसकेको टिप्पणी गरे । आफूहरुले ठूलो चाहना र आसा नेताहरुसंग नराखेको बताएका उनले परिचय पत्रको समेत व्यवस्था गर्न किन नसकेको भन्दै प्रश्न गरे ।
यातना पीडित समाज तनहुँका अध्यक्ष विष्णुप्रसाद भट्टराईले आफूहरुलाई तत्कालिन राज्य र विद्रोही दुवै पक्षले याताना दिएको स्मरण गरे । आफूहरुलाई भ¥याङ बनाएर सत्तामा पुग्ने तर आफूहरुका लागि केही नगर्ने नेताहरु अगाडि आउन पनि लाज मान्नुपर्ने उनको तर्क थियो ।
उक्त अवसरमा यातना पीडित समाज कास्कीका अध्यक्ष जयकृष्ण पोखरेल, कास्कीको रुपाकी कोपिला ओझा, कास्कीकै सृजना परियार लगायतले आफूहरुले भोगेका पीडा पोखेका थिए । यातना पीडित र आफन्त अहिले मानिसक रुपमा विक्षिप्त हुनुपरेको भन्दै उनीहरुले अहिले आफूहरुको कोपीला नेपाल संस्थाले जत्तिको पनि सरकारले गर्न नसकेको धारणा राखिन् ।
कार्यक्रममा बोल्दै कोपिला नेपालका कार्यकारी निर्देशक विना शिलवालले अहिले गण्डकी प्रदेशभर १२२ जना याताना पीडितहरुले मानसिक स्वास्थ्य समस्या समाधान गर्न औषधी सेवन गर्ने गरेको जानकारी दिइन् । यसरी औषधी सेवन गर्नेहरु धेरै रहेको तर कोपिला नेपालले सहयोग गरेकाहरुको संख्यामात्र त्यति रहेको उनको भनाई छ । ‘उहाँहरुको मानसिक स्वास्थ्य समस्या विकराल छ । १२२ जनालाई हामीले सहयोग गरेका छौं । जसको आफैसंग पैसा खर्च गरेर उपचार गर्ने क्षमता छैन उहाँहरुलाई हामीले निसुल्क औषधी उपलब्ध गराएका छौं’ उनले भनिन् ‘आफै पैसा खर्च गरेर मानिसक स्वास्थ्यको औषधी सेवन गर्ने पनि धेरै हुनुहुन्छ । उहाँहरुको डाटा हामीसंग छैन ।’
कार्यक्रममा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले आफूहरुले भोगेका यातना पनि कम्ता नभएको सुनाए । तर, पीडितका समस्या सम्बोधन गर्न आफू लागि पर्ने उनले बताएका छन् । आफू स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्यका क्षेत्रमा धेरै नै सुधारका प्रयास गरेको उनले स्मरण गरे ।सहभागीको आक्रोसलाई मत्थर पार्दै नेता अधिकारीे भने, ‘तपाईहरुले सबैलाई सोलोडोलो खराव भन्नु भएन । हाम्रा पीडा पनि कमका छैनन् । तर, तपाईहरुका समस्या सम्बोधन गर्न लागि पर्नेछौं ।’
गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले द्वन्द्व पीडित दाजुभाई दिदिबहिनीले आफूहरुलाई नालायक भनि त्यसलाई सहनुपर्ने बताए । ‘तपाईहरुले नालायक भनेपनि हामी त्यसलाई सकारात्मक ढंगले लिन्छौं’ उनले भने, ‘यहाँहरुको आक्रोस जायज पनि छ । हामी राजनीति गर्ने मानिसले द्वन्द्व पीडितका आवज सुन्नुपर्छ । केही कमिकम्जोरी हुँदा घच्घच्याउनु पर्छ’ उनेले भने ।