बागमती प्रदेशसभाका जेष्ठ सदस्यको शपथ आज

केन्द्रभाग मिडिया

मकवानपुर ।

बागमती प्रदेशसभाका जेष्ठ सदस्यको शपथ ग्रहण आज बुधबार हुँदैछ । दिउँसो २ बजे हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालय हुटौंडामा जेष्ठ सदस्यको शपथको कार्यक्रम रहेको छ ।

प्रदेशको जेष्ठ सदस्यको रुपमा नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले शपथ गर्दैछन् । जन्म मिति अनुसार प्रदेशसभाका ११० सांसदमध्ये उनी ज्येष्ठ सदस्य हुन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउने छन् ।

निर्वाचन आयोगले गत पुस २ गते प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार उनी उमेर ७२ वर्ष रहेको छ । उनको जन्म २००६ साल असोज २ गते भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्नेछन् । सोहीअनुसार नुवाकोट निर्वाचन क्षेत्र २ ९१० बाट प्रदेशसभामा निर्वाचित ढुङ्गानाले प्रदेशसभाको आगामी अधिवेशनको बैठक सञ्चालन गर्नेछन् ।

उनले शपथ ग्रहण गरेपश्चात बाँकी सांसदलाई पुस १४ गते बिहीबार शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

  • १३ पुष २०७९, बुधबार ०९:११ प्रकाशित