काठमाडौं ।
नयाँ प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दललाई दिएको समयसीमा आज सकिँदैछ ।
राष्ट्रपतिले यहि ३ गते दलहरूलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न (पुस १० गते) आज साँझ ५ बजेसम्मको समयसीमा दिनुभएको थियो । राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा पनि दलहरुबीच सहमति भने जुट्न सकेको छैन ।
दलहरु आज अन्तिम दिन निर्णायक छलफलमा जुटेका छन् ।
छलफलका लागि सत्ता गठबन्धनको बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी प्रधानमन्त्री प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
गठबन्धनको बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।
पहिलो प्रधानमन्त्री को भन्ने विषयमा सहमति जुट्न नसकेपछि हिजो साँझको सत्ता गठबन्धन बैठक बिनानिष्कर्ष सकिएको थियो । यस्तै आज बिहानैबाट दलहरु आन्तरिक तयारीमा जुटेका छन् । प्रधानमन्त्री देउवाले बालुवाटारमा आफ्ना विश्वासपात्रहरुलाई बोलाएर विकल्पबारे छलफल गर्नुभएको छ ।
देउवा र प्रचण्डले गठबन्धन बैठकअघि शीर्ष तहका नेताहरुसँग समेत छलफल गरेका थिए ।