राष्ट्रपति र सभामुख लिएर प्रधानमन्त्री छोड्न कांग्रेस तयार !

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेताहरूले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गरिरहेका छन् । वार्ता र छलफललाई तीव्रता दिएका छन् । यहीबीचमा कांग्रेसका शीर्ष नेताहरू विभिन्न विकल्पमा छलफल गर्न समेत तयार भएका छन् ।

कांग्रेस नेतृत्व अहिले सकेसम्म राष्ट्रपति र प्रधानमन्त्री आफ्नै पार्टीले लिने दाउमा छ । त्यसो हुन नसकेको अवस्थामा पहिलो कार्यकाल अर्थात् अबका दुई वर्ष प्रधानमन्त्री पद सत्ता गठबन्धनमा आबद्ध अरू दलका नेतालाई छोड्न सकिने विकल्पमा छलफल गर्न पनि सकारात्मक देखिएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक सांसदका अनुसार राष्ट्रपति र सभामुख आफ्नो पार्टीले पाउने गरी अहिले प्रधानमन्त्री पद छोड्ने विषयमा छलफल गर्न कांग्रेस नेतृत्व लचिलो बनेको छ ।

ती केन्द्रीय सदस्यका अनुसार पहिलो कार्यकाल प्रधानमन्त्री पद छोड्ने, राष्ट्रपति र सभामुख लिने तथा दुई वर्षपछि प्रधानमन्त्री पनि आफैँ हुने विषयमा छलफल गर्न कांग्रेस नेतृत्व तयार छ । यो अवस्थामा तीन वा चार प्रदेश सरकारको अबको नेतृत्वमा पनि कांग्रेसको दाबी रहनेछ ।

ती सांसदका अनुसार कांग्रेस नेतृत्व पहिलो कार्यकाल नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्तसहित प्रधानमन्त्री बनाउन लचिलो बनेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न दिएको समयसीमा भोलि सकिँदै छ ।

सरकार गठनलगायत विषयमा निष्कर्षमा पुग्न आज सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक समेत बसेको छ ।

  • ९ पुष २०७९, शनिबार १८:०४ प्रकाशित