मकवानपुर ।
बागमती प्रदेशका सांसदहरुको शपथ ग्रहणको विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौंडामा बैठक आह्वान गरिएको छ ।
बैठकले प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरुको जेष्ठ सदस्यको अन्तिम निर्णय, शपथ ग्रहणको मिति टुंग्याउने छ । सो सर्वदलीय बैठकमा जेष्ठ सदस्यको सपथ र सभाका अन्य सदस्यहरुको सपथका विषयहरुमा छलफल गरिने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए ।
सर्वदलीय बैठकको निर्णय अनुसार प्रदेशसभा संचालनको लागि जेष्ठ सदस्यको छनौट गरी सबैभन्दा पहिले प्रदेश प्रमुख मार्फत उनको शपथ गराउनु पर्ने कानुनी व्यवस्था रहेको उनले बताए । जेष्ठ सदस्यको शपथ पश्चात उनले अन्य सदस्यहरूको शपथ ग्रहण गराउने पर्ने भएकाले सोही अनुसार तयारी गरिरहेको छ ।
प्रदेश सरकारसंगको समन्वयमा आगामी पुस ११ गतेको लागि जेष्ठ सदस्यको शपथ र १२ गते अन्य सांसदहरुको शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी भएको र सोही अनुसार आजका सर्वदलीय बैठकमा प्रस्ताव गरेर अन्तिम रुप दिने उनको भनाई छ ।
प्रदेशसभाको पहिलो बैठकको अध्यक्षताका लागि सचिवालयले जेष्ठ सदस्य समेत छनौट गरिसकेको छ । सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रका नुवाकोट निर्वाचन क्षेत्र २ ९क० बाट प्रदेशसभामा निर्वाचित सांसद रामप्रसाद ढुंगानाले जेष्ठ सदस्यको हैसियतमा पहिलो बैठकको अध्यक्षतासहित अन्य सांसदहरुको शपथ ग्रहण गराउने छन् ।