सप्तरी ।
जनमत पार्टीका अध्यक्ष डा सीके राउतविरुद्ध प्रदर्शन भएको छ । राउतले प्रतिनिधिसभा सदस्यका रूपमा लिएको शपथ बदर हुनुपर्ने माग गर्दै बिहीबार साँझ सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन भएको हो ।
राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला प्रतिष्ठान (मिलाफ) र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले नाराबाजी गर्दै राउतको पुत्ला दहन समेत गरेका हुन् ।
मैथिली साहित्य प्रतिष्ठान सप्तरीका पूर्वअध्यक्ष देवेन्द्र मिश्रले मधेसी भाषा कतै उल्लेख नरहेको अवस्थामा जनताको सर्वोच्च निकाय संसद् सचिवालयले मधेसी भाषा भनेर राउत र उनका पार्टीका अन्य सांसदलाई शपथ गराउनु संविधानविपरीत भएको बताए ।
संसद् सचिवालयले राउतको शपथलाई अवैध ठहर गरी संविधानले तोकेको मातृभाषामा शपथ गराउनुपर्ने उनीहरूको माग छ ।