सिरियल किलर चार्ल्स शोभराज जेलमुक्त : अध्यागमनलाई बुझाउने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

सिरियल किलरका रूपमा परिचित कुख्यात अपराधी चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई छाड्ने आदेश दिएको हो ।

सर्वोच्च अदालतको आदेशमा निज शोभराजले ७५ प्रतिशत कैद भुक्तान गरिसकेको र चालचलन पनि खराब नदेखिएको भन्दै उनलाई संविधान अनुसार वृद्धको सुविधा दिनुपर्ने उल्लेख छ । आदेशमा अन्य मुद्दाबाट उनलाई थुनामा राख्नु नपर्ने भए तत्काल कारागारबाट रिहा गर्न र १५ दिनभित्र निजको देशमा डिपोर्ट गर्न पनि भनिएको छ ।

सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ ।

दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हुन् ।

केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेका अनुसार जिल्ला अदालत भक्तपुरबाट पत्र आएपछि आज बिहीबार उनलाई अध्यागमन विभागमा बुझाइने छ ।

कैद बसेर छुटेपछि उनलाई अध्यागमनमार्फत निष्कासन गरिनेछ । उनको पासपोर्ट तथा ट्राभल डकुमेन्ट तयार भएपछि अध्यागमन विभागले भिसा नियमित गरी उनलाई अध्यागमन कसुरअनुसार जरिवानासमेत गर्नेछ ।

जरिवाना तिरेपछि गृह सचिवस्तरीय निर्णय गरी निश्चित वर्ष नेपाल आउन नपाउने गरी निष्कासन हुने अध्यागमन नियमावलीको प्रावधान छ ।

  • ७ पुष २०७९, बिहीबार ०९:२८ प्रकाशित