काठमाडौं ।
निर्वाचनको मत परिणामको आउने क्रम अन्तिमतिर रहेसँगै प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ सरकार बनाउने गृहकार्यमा होमिएका छन् ।
सत्ता गठबन्धन भन्दा बाहिर रहेका साना दलहरुलाई साथमा लिएर सरकार बनाउनका लागि देउवा लगायत सत्तासीन दलका शिर्ष नेताहरु दौडधुप गरिरहेका छन् ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि तयार रहेको सन्देश पठाएका छन् ।
कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले जनाएको छ । गत आइतबार कांग्रेस नेता सिंह ओलीइलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।
सिंहको सचिवालका अनुसार पहिला प्रधानमन्त्री देउवालाई भेटेर नेता सिंह ओली भेट्न बालकोट पुगेका हुन् । प्रतिनिधिसभा सदस्यमा काठमाडौं– १ बाट निर्वाचित सिंह र झापा– ५ निर्वाचित ओलीबीच बधाइ साटा साटसँग आगामी सत्ता सहकार्यबारे कुराकानी भएको पाइएको छ ।
ओलीसँग भएको कुराकानीबारे सिंह बुधबार साझा बालुवाटार गएर प्रधानमन्त्री देउवालाई विफ्रिङ गरेका थिए । ‘सत्ता गठबन्धन बहुमत पुग–नपुग अवस्थामा छ । पुतली जस्तो सरकार बनाउनु भन्दा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएर जान सकिन्छ । हामी त्यसका लागि तयार छौं । तपाईको सभापतिलाई भन्नुहोला,’ ओलीको सन्देश थियो । सिंहले ओलीको उक्त सन्देश देउवालाई सुनाइसकेका छन् ।
वर्तमान गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेका देउवाले ओलीको सन्देशलाई पनि ‘नोटिस’मा राखेको बालुवाटार स्रोतको दाबी छ ।