बालश्रम न्यूनीकरणमा पोउवा संघको सामाजिक विकास केन्द्र

केन्द्रभाग मिडिया

पोखरा।

पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले बालश्रम न्यूनीकरणसहित संचालित विभिन्न कार्यक्रमका सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ । सञ्चालित कार्यक्रमहरुलाई कसरी प्रभावकारी बनाउने भन्ने उद्धेश्यले सुझाव संकलन गर्नको लागि सो कार्यक्रम आयोजना गरिएको सामाजिक विकास केन्द्रका संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले बताए ।

बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले सामाजिक विकास केन्द्रले विगतदेखि सञ्चालनमा ल्याएको बालश्रम न्यूनीकरण कार्यक्रमकै कारण पोखरामा बालबालिकालाई निकृष्ट प्रकारका श्रममा लगाउने कार्यमा कमी आएको जिकिर गरे ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले बालश्रम न्यूनीकरणको लागि स्थानीय सरकारहरु बढी क्रियाशिल हुनुपर्ने बताए । उनले एउटा कुरा भन्ने र अर्को कुरा गर्ने प्रवृत्तिका कारण समस्या उत्पन्न भएको बताउँदै साझा सरोकारका सवालहरुमा सहकार्य जरुरी भएको पनि बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले निकृष्ट प्रकारका बालश्रम न्यूनीकरणमा सबैको हातेमालो जरुरी भएको बताए ।पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यको सञ्चालन रहेको कार्यक्रममा बोल्दै पोखरा ११ का वडाध्यक्ष प्रेम कर्माचार्यले वडाले पढाइबाट बञ्चित भएका बालबालिकाको लागि छात्रवृत्तिको व्यवस्था गरेको बताए ।

कार्यक्रममा इन्सेक पश्चिमाञ्चल प्रमुख शिव खकुुरेल,कन्या क्याम्पस पोखरामा प्रमुख सुरेश मानन्धर,पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे,पोखरा महानगर सामाजिक विकास महाशाखाकी अधिकृत विष्णुमाया पौडेल,राम प्राविका प्राचार्य तीर्थराज न्यौपाने,जिल्ला प्रहरी कार्यालय कास्कीका बरिष्ठ हवल्दार गौतम श्रेष्ठलगायतले विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले हाल संचालित परियोजनाको लक्ष्य र कार्य प्रगति विवरण पेश गरेका थिए । उनका अनुसार सामाजिक विकास केन्द्रले किडासालगायतका दाताहरुको सहयोगमा बालश्रम न्यूनीकरण,जीविकोपार्जन तथा शिक्षालगायतका ४ वटा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उनका अनुसार अहिले पोखरामा करिब १ हजार ३६९ जना बालश्रमिकहरुको पहिचान भएको छ । तीमध्ये ५७२ जना विभिन्न वर्कसपमा कार्यरत छन् । मोटर तथा मोटरसाइकल वर्कसपमा काम गर्ने अधिकांश बालकहरु भारतीय रहेकाले उनीहरुलाई कामबाट छुटाउन र परिवारको जिम्मा लगाउन नसकिएको पनि उनले सुनाए । ती बालकहरुलाई कार्यस्थलमै पुगेर शिक्षा प्रदान गरिरहेको उनको भनाइ छ ।

  • १६ चैत्र २०८०, शुक्रबार १०:३० प्रकाशित