पोखरा-१३ मा स्वास्थ्य शिविर, २ सय जनाले लिए लाभ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका-१३ मा भएको निशुल्क स्वास्थ्य शिविरबाट २ सय जनाले लाभ लिएका छन् । पोखरा-१३ र पोखरा नर्सिङ क्याम्पसको संयुक्त आयोजनामा बिहीबार भएको शिविरमा विभिन्न रोगको उपचार गरिएको थियो ।

शिविरमा आँखा, ब्लड प्रेसर, सुगरलगायत रोगको उपचार गरिएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र दृष्टि आँखा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा भएको शिविर डा. सूर्यबहादुर हमाल र डा. किशोर भण्डारीको नेतृत्वमा भएको थियो । शिविरको व्यवस्थापन शहरी स्वास्थ्य केन्द्र पोखरा- १३ ले गरेको थियो ।

शिविरमा ६० जनाको आँखा र १ सय जनाको सुगर, युरिनलगायत, ब्लड प्रेसर जाँच गरिएको शहरी स्वास्थ्य केन्द्र पोखरा १३ की जनस्वास्थ्य निरिक्षक राधा गरब्जाले जानकारी दिइन् । ‘कार्यक्रम निकै सफलतापूर्वक सम्पन्न भयो । २ सय जनाको स्वास्थ्य परिक्षण गरिएको थियो, उनले भनीन्, ‘धेरैको सुगर, युरिन र प्राटिनको जाँच गरिएको थियो । ६० जना जतिको आँखाको जाँच भयो ।’

शिविरमा निशुल्क औषधि वितरण गरिएको पोखरा-१३ का वडाध्यक्ष किरण बरालले जानकारी दिए । बिहान १० बजेदेखि सुरु भएको शिविर करिब ५ घण्टा चलेको उनले सुनाए । ‘जनताको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउनका लागि शिविर सञ्चालन गरिएको हो,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका स्थानीयवासी वडामै स्वास्थ्य सेवा पाउँदा खुशी छन् ।’

  • १५ चैत्र २०८०, बिहीबार १७:५७ प्रकाशित