एसईई परीक्षा

गण्डकीमा ३ सय १ परीक्षार्थी अनुपस्थित

स्याङजाका दुई किरिया पुत्री परीक्षामा सहभागी

उमा वि क

उमा वि क,

पोखरा  ।

आज देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गण्डकी प्रदेशबाट फाराम भरेका मध्ये ३ सय १ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

गण्डकीमा ४१ हजार २ सय ३६ विद्यार्थीले एसईईको फाराम भरेको शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । जसमा नियमिततर्फ ३९ हजार ४२ जना परीक्षार्थी छन् । त्यस्तै, प्राविधिकधारतर्फ १ हजार ३ सय ९० र अन्य ग्रेड वृद्धितर्फका रहेका छन् ।

पहिलो दिनको परीक्षामा ३ सय १ जना परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास निर्देशनालयका निमित्त महानिर्देशक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए । ३ सय १ जना अपांगता भएका परीक्षार्थी थिए भने दुई जना क्रियापुत्री रहेको उनले बताए । उनका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा दुई क्रियापुत्री परीक्षामा सहभागी भएका हुन्

फेदीखोला गाउँपालिका ४ घर भई सिद्धार्थ माविमा अध्ययनरत संगम र सौगात क्षत्री (दाजुभाइ) परीक्षामा सहभागी भएका हुन् । उनीहरुका चार दिनअघि बुबाको निधन भएको थियो ।

अंग्रेजी बिषयको पहिलो परीक्षा दिएका संगमको ०४३००५६५ आई र सौगातको ०४३००५६८ एल सिम्बोल नम्बर रहेको छ।

 निर्देशनालयका अनुसार बिहीबारदेखि सुरु भएको यस वर्षको एसईई परीक्षा गण्डकीका ११ वटै जिल्लामा संचालन भएको छ । आचार्यका अनुसार १ हजार ३ सय ३२ विद्यालयलाई २ सय १४ परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गरिएको छ । उक्त परीक्षा सञ्चालनका लागि २ सय १४ जना केन्द्राध्यक्ष, ३ सय ७२ जना सहायक केन्द्राध्यक्ष, २ हजार १ सय ४४ जना निरीक्षक, ५ सय १८ जना परीक्षा सहायक, ९ सय २३ कार्यालय सहयोगी र करिब ३ हजार २ सय १० जना सुरक्षाकर्मी खटिएका छन् ।

कास्कीका कति विद्यार्थी छन् ?

कास्की जिल्लाका २८७ विद्यालयबाट १० हजार १ सय ७४ परीक्षार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीले जनाएको छ ।पहिलो दिन कास्कीमा ४९ जना परीक्षार्थी अनुपस्थित भए । तीमध्ये २७ जना छात्रा र २२ जना छात्र हुन् । ग्रेड वृद्धितर्पm पहिलो दिनका लागि १० जनामध्ये २ जना अनुपस्थित भए ।

कास्कीमा एसईई दिने छात्रा भन्दा छात्रको संख्या बढी रहेको शिक्षा विकास तथा समन्वय इकाइ, कास्की प्रमुख लोकनाथ आचार्यले बताए । आचार्यको अनुसार ५ हजार ३ सय २ छात्र रहेका छन् भने छात्रातर्फ ४ हजार ८ सय ७२ परीक्षार्थी रहेका छन् ।

कास्कीबाट यसवर्ष १० जना दृष्टिबिहिन र १६ जना सुस्त श्रवण परीक्षार्थी एसईई परीक्षामा सहभागी भएको आचार्यले जानकारी दिए । प्राविधिक तर्फका २१५ र ग्रेडवृद्धिका ६५ विद्यार्थीले परीक्षा दिएका छन् । कास्कीमा ३५ वटा परीक्षा केन्द्र तोकिएको छ ।

एसईई चैत २७ गतेसम्म संचालन हुनेछ । आज पहिलो दिन अनिवार्य अङग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । गण्डकीमा शान्तीमय वातारणमा आजको परीक्षा सम्पन्न भएको शिक्षा विकास निर्देशनालयका निमित्त महानिर्देशक अम्बिकाप्रसाद आचार्यले बताए ।

  • १५ चैत्र २०८०, बिहीबार १६:२८ प्रकाशित