रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीले रुसमा श्रम स्वीकृति दिने निर्णय गरेका थिए । राजीनामा दिनु केही दिनअगाडि गरेको उक्त निर्णय आजसम्म गोप्य नै राखिएको थियो । तर, बुधबार एकाएक निर्णय सार्वजनिक गरियो ।

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दिने निर्णय सार्वजनिक गरिरहँदा श्रममन्त्री डोलप्रसाद अर्यालले भने रुसमा व्यक्तिगत श्रम स्वीकृति खुला नगरिरहेको भन्दै भाषण गरिरहेका थिए । त्यहीबेला विभागले फागुन ९ र १६ गते श्रम सचिवले निर्णय गरेको भन्दै विज्ञप्ति सार्वजनिक गरेको थियो ।

रुस र युक्रेनबिचको युद्धका कारण २०८० पुस १९ गतेदेखि श्रम स्वीकृति दिने कार्य रोकेको थियो । रुस–युक्रेन युद्धमा नेपाली नागरिकहरूको मृत्यु भएको कारण देखाई परराष्ट्र मन्त्रालयले रुसमा भ्रमण गर्दा कन्सुलर सेवा विभागबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । रुसमा काम गर्न जाने कामदारहरूको श्रम स्वीकृति समेत रोकिएको थियो । तर, श्रम सचिव भण्डारीले २०८० फागुन ९ गतेको पुनः श्रम स्वीकृति सुचारू गर्ने निर्णय गरेका थिए ।

उनले रुसमा विभिन्न पेशा व्यवसाय गरी नेपालमा बिदामा आएका कामदारहरूको मागलाई सम्बोधन गर्ने भन्दै पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय गरेका थिए । त्यस्तै संस्थागत माध्यमबाट (मेनपावर व्यवसायीबाट) रसियाको   Blagoveshchensk Cityस्थित Sinopec Engineering Russia Group LLC कम्पनीमा कामदार पठाउन श्रम स्वीकृति दिने निर्णय समेत गरेका थिए ।

  • १५ चैत्र २०८०, बिहीबार १४:४४ प्रकाशित