त्रिविबाट हरायो उत्तरपुस्तिका : पुनः परीक्षा गराउने तयारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयमा अर्को विषयको पनि उत्तरपुस्तिका हराएको खुलासा भएको छ ।

अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका हराएको हो । उक्त परीक्षा केन्द्रका १७६ थान उत्तरपुस्तिका नै हराएको त्रिवि स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उत्तरपुस्तिका हराएको विषयमा आन्तरिक छानबिन थालिएको छ । उत्तरपुस्तिका खोज्दा नभेटिएपछि ११ चैतमा पनिकाले आन्तरिक सर्कुलरसमेत जारी गरेको थियो ।

यसअघि स्नातक तह बीए प्रथम वर्षको जनसङ्ख्या विषयको उत्तरपुस्तिका हराएको थियो । गत कात्तिकको पहिलो साता भएको जनसङ्ख्या विषयको परीक्षाको उत्तरपुस्तिका सम्परीक्षण गर्नु अघि नै हराएको हो । देशभरबाट ल्याइएका १६५ थान उत्तरपुरस्तिका हराएको थियो । एकलट परीक्षण भएको उत्तरपुस्तिका सम्परीक्षकले २० प्रतिशत पुनः जाँच गर्नुपर्ने हुन्छ । उक्त सम्परीक्षण गर्नु अघि नै उत्तरपुस्तिकाको पोकै हराएको थियो ।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न इतिहास विभागका प्रमुख ईश्वरी कँडेलको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो उक्त विषयको पुनः परीक्षा गराउने गरी गृहकार्य सुरु भएको छ । कुनै सूचना जारी नगरीकनै सम्बन्धित क्याम्पसमा जति परीक्षार्थी छन् त्यहीअनुसार प्रश्न पत्र बनाएर परीक्षा सञ्चालन गर्ने तयारी भएको हो ।

परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीका अनुसार तत्कालै परीक्षा तालिका बनाएर पुनः परीक्षा सञ्चालनको तयारी भइरहेको छ ।

  • १४ चैत्र २०८०, बुधबार १६:३९ प्रकाशित