अमेरिकाको बाल्टीमोरमा पुल भत्किदाँ बेपत्ता भएकाहरू मृत घोषित

केन्द्रभाग मिडिया

वासिङ्टन डीसी ।

अमेरिकाको बाल्टिमोरमा एउटा कन्टेनर जहाज पुलमा ठोक्किएको घटनामा बेपत्ता भएका ६ जनालाई मृत घोषित गरिएको छ । मंगलबार बाल्टिमोर सहरमा रहेको फ्रान्सिस स्कट पुलमा कन्टेनर शिप ठोक्किँदा पुल भत्किएको थियो । २.६ किमी लामो सो पुल पार गरिरहेका कयौँ सवारी साधन पानीमा खसेका थिए ।

यस घटनामा ८ जना बेपत्ता थिए । २ जनाको उद्धार गरिएको भएपनि बाँकी ६ जना बेपत्ता नै थिए । बेपत्तामध्ये २ जना भने ग्वाटेमालाका निर्माण कामदारहरू भएको बताइएको छ । यसमा केही मेक्सिन नागरिक भएको वाशिङ्टनस्थित मेक्सिन दूताबासले बताएको छ ।

तर बेपत्तामध्ये कति जना मेक्सिकन नागरिक हुन् भन्ने पुस्टी भइसकेको छैन । अर्को सूचना जारी नभएसम्मका लागि बाल्टिमोर बन्दरगाहमा जहाजको आवतजावत बन्द गरिएको छ । सिङ्गापुरको झन्डा बोकेको ९४८ फिट अग्लो जहाज फ्रान्सिस स्कट की ब्रिजको पिलरमा ठोक्किएपछि पुल भत्किएको थियो ।

  • १४ चैत्र २०८०, बुधबार ११:१० प्रकाशित