पोखरा-९ का जेष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणसंगै पोषिलो सातु प्रदान

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर-९ मा जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविरसहित पोषण वितरण एवं सफल जीवन जिउने कला सम्बन्धि प्रशीक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर वडा नम्बर-९ जेष्ठ नागरिक मञ्चको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा २५० जना भन्दा धेरै जेष्ठ नागरिकले सेवा लिएका कार्यक्रम संयोजक एवं वडा सदस्य लक्ष्मी पहारीले जानकारी दिइन् । स्वास्थ्य शिविरअन्तर्गत आँखा जाँच र स्वास्थ्य परीक्षण गरिएको उनले बताइन् । साथै शिविरमा सहभागी जेष्ठ नागरिकलाई पोषिलो सातु प्रदान गरिएको थियो । जीवन जिउने कलाको समेत प्रशिक्षण दिइएको थियो ।

यस अगाडि स्वास्थ्य शिविरको शुभारम्भ वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गरेका हुन् । कार्यक्रमको शुभारम्भ गर्दै उनले वडाले जेष्ठ नागरिकको सम्मानका साथै उनीहरुको जीवनलाई सहज बनाउन आफूहरु लागि परेको जानकारी दिए ।

बृद्धअवस्थामा सन्तुलित आहारा, स्वाच्छ वातावरणमा बस्ने वातावरण र उचित हेरचाह जेष्ठ नागरिकका लागि आवश्यक रहेको उनले बताए । वडाध्यक्ष मर्सानीले हिँडेर कार्यालयसम्म सेवा लिन नसक्ने र शिविरमा उपस्थित हुन नसकेका जेष्ठ नागरिकलाई घर आँगनमै पुगेर नियमित स्वास्थ्य परीक्षण लगायतका सेवा प्रदान गरिने बताए ।

दृष्टि आँखा अस्पताल नयाँबजारको प्राविधिक सहयोगमा आँखा शिविर, ब्रमकुमारी ईश्वरीय विश्वविद्यालयका नयाँबजारका बढिदिज्यु परिनिताबाट जिउनेकलाको प्रशिक्षण भएको हो । जेष्ठ नागरिक मञ्च वडा नम्बर ९ का अध्यक्ष क्षेत्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक एवं वडा सदस्य लक्ष्मी पहारीले स्वागत मन्तव्य दिएकी थिइन् ।

  • १३ चैत्र २०८०, मंगलवार १८:३९ प्रकाशित