पर्यटकीय राजधानी पोखराको बेगनासमा राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता सम्पन्न

केन्द्रभाग मिडिया

 

पोखरा ।
नेपालको पर्यटन राजधानी पोखरामा “प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता २०८०” सफलता सम्पन्न भएको छ । प्रतियोगिताको पाँच सय मिटर तर्फ वाटर स्पोर्टस् नेपालको समूह प्रथम भएको छ । विजेता समूहले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा नारा पोखरा दोस्रो र नेपाली सेनाको समूह तेस्रो भएका छन् । उनीहरूले क्रमशः एक लाख रुपैयाँ र ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना भएको वेगनासताल डुङ्गा व्यवसायी समितिले २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको दुई सय मिटर तर्फ पुरुष समूहमा नारा पोखरा प्रथम भएको छ भने, वाटर स्पोर्टस् समूह दोस्रो भएका छन् । यस्तै हर्पन पोखरा मत्स्य सहकारी समूह तेस्रो भएको छ । खास्टे न्युरेनी समूह सान्त्वना भएको छ । दुई सय मिटर तर्फको विजेताले एक लाख रुपैयाँ, उपविजेताले ७५ हजार रुपैयाँ, तेस्रोले ४० हजार रुपैयाँ प्राप्त गरेको छ ।

यसै गरी २ सय मिटर महिला तर्फ बेगनास व्यवसायी मत्स्य समिति प्रथम भएको छ । वेगनासताल डुङ्गा व्यवसायी समिति दोस्रो र जलारी दिदी बहिनी समूह तेस्रो भएका छन् । पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट सङ्घ गण्डकी र होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको सह(आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा १४ समूहको सहभागिता रहेको थियो ।

प्रतियोगिताले पर्यटन राजधानी पोखराको पर्यटन प्रवर्द्धन तथा वाटर स्पोर्टस् विकासमा उल्लेख्य सहयोग पुग्ने विश्वास गरिएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सिनाले महानगरको नीति तथा कार्यक्रम मै समावेश गरी व्यवस्थित रूपमा वाटर स्पोर्टस् सञ्चालनका लागि प्रक्रिया अघि बढाएको बताए ।

पोखरामा रहेका आकर्षक तालहरूको संरक्षण तथा सौन्दर्यीकरणका लागि पोखरा महानगरपालिका योजनाबद्ध ढङ्गले लागिरहेको बताउँदै उउनले खास्टे र न्युरेनी तालको विकास तथा संरक्षणका लागि डीपीआर समेत भएर प्रक्रियामा अघि बढेको बताए । खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट व्यवस्थापन गरी पूर्वाधार निर्माणमा समेत महानगर योजनाबद्ध रूपमा लागिरहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा वाटर स्पोर्टस्को विकास, संरक्षण र प्रवर्द्धनका लागि आवश्यक सहकार्य गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताए ।

नेपालको पर्यटन राजधानी पोखरामा प्रत्येक वर्ष राष्ट्रिय स्तरको ड्रागन डुङ्गा दौड प्रतियोगिता आयोजना गर्ने र प्रत्येक २–२ वर्षमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसअघि नै जनाएको प्रतिबद्धतामा महानगरपालिका प्रतिबद्ध रहेको प्रवक्ता तिमिल्सिनाले बताए ।

  • १२ चैत्र २०८०, सोमबार २२:३७ प्रकाशित