पोखरा महानगरको सातौं स्थापना दिवस

सबै मिलेर काम गरौं, नमूना महानगर बनाउन सक्छौं : प्रमुख आचार्य

केन्द्रभाग मिडिया

 

पोखरा ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सबै मिलेर काम गर्ने हो भने पोखरा महानगरलाई नमूना महानगर बनाउन सकिने बताएका छन् । पोखरा नगरपालिकाको ६४ एवं राज्य पुनर्संरचनापछिको सातौं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा वौल्दै उनले यस्तो बताएका हुन् । यसका लागि कर्मचारी र जनप्रतिनिधी एक भएर लाग्नुपर्ने उनको भनाई छ ।

प्रमुख आचार्यले महानगरका प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, जनप्रतिनिधी सवैले आफ्नो अधिकार के हो ? र के गर्न सकिन्छ ? भनेर सोचेको खण्डमा पोखरा महानगर नेपालकै नमुना महानगर धारणा राखे । कर्मचारी र जनप्रतिनिधी फरक भएतापनि सम्पूर्णले आफ्नो काम कर्तब्य र अधिकारलाई प्रयोग गरेर अगाडी वढ्नुपर्ने उनको भनाइ रहेको थियो । स्थापना दिवसको सन्दर्भमा कसैले कसैलाई आक्षेप लगाउने भन्दापनि सवैले आ–आफूले मम गर्नुपर्ने वताए । ‘सिस्टममा नचल्दा रिजल्ट आउँदैन । प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सवै कार्यपालिका सदस्य, जनप्रतिनिधी र सम्पूर्ण कर्मचारीले मेरो रेस्पोन्सिबिलिटी के हो भनेर अगाडी बढेमा महानगर उत्कृष्ट बन्छ’ उनले भने ।

महानगर असफल भए त्यसको भागीदार सम्पूर्ण हुने भएकाले महानगरलाई सफल बनाउन महानगरबासी, कर्मचारी र जनप्रतिनिधीहरु एकजुट भएर लाग्नुपर्नेमा उनलेजोड दिए । पोखरा महानगरले विभिन्न खोज अनुसन्धानको आधारमा २०१६ २ पुसमा गते पोखरा नगरपालिका स्थापना भएको वताउदै महानगरले अव नगरपालिका स्थापना भएको दिन पुष दुई गतेलाई स्थापना दिवस मान्ने वताए । तर त्यसको निर्णय भने भइनसकेको उनको भनाइ रहेको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले कर्मचारीलाई जनप्रतिनिधीसंग मिलेर काम गर्न आग्रह गरे । जनप्रतिनिधी र कर्मचारी महानगर बनाउन आएको बताउँदै स्थानीय तह हातले छँुदा भेटिने सरकार भएकाले सवै अधिकार सम्पन्न स्थानिय सरकार रहेको वताए । पोखरा महानगरपालिकाले सुत्र मार्फत सम्पूर्ण वडाहरुलाई स्वायत्त बनाएको वताउदै सुत्र मार्फत अधिकार प्रत्यायोजन गरेको खर्च केन्द्रित गरेको वताए । यो बित्तिय संघीयताको राम्रो उदाहरणको अभ्यास भएको उनको भनाइ छ । कर्मचारीहरुलाई महानगरले गर्ने हरेक काममा साथ दिन समेत उनले आग्रह गरे ।

सल्लाहकार समितिका संयोजक आनन्दराज मुल्मीले पोखरा महानगरभित्र नया उद्योगहरु सञ्चालनमा ल्याउने गरी योजनाहरु अगाडी वढाउन आग्रह गरे । स्वदेशी तथा विदेशी सहयोगी दाताहरुले महानगरको श्रोत खोज्ने भएकाले श्रोत बढाउन तर्फ महानगर उद्दत हुनुपर्नेमा जोड दिए । आर्थिक सबलता अगाडी वढाउन नसके महानगरले चाहेको कुरा पुरा नहुने बताउदै आयश्रोत बढाउने र नयाँ पर्यटकीय गन्तब्य निर्माणमा महानगर जुट्नुपर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेस दलका नेता दिवशमान प्रधानाङ्गले पोखरा महानगरलाई उत्कृष्ठ बनाउनका लागि कर्मचारी र जनप्रतिनिधी सम्पूर्णले आ–आफ्नो दायित्वलाई पुरा गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए । त्यस्तै नेकपा एमाले दलका नेता राधिका शाही योगीले महानगरले स्थापना दिवस मनाइरहँदा महानगरबासीलाई समेटेर महानगरको समृद्धि तर्फ अगाडी वढिरहेको छ कि छैन भन्ने तर्फ सम्पूर्णले ध्यान दिन आवश्यक रहेको बताइन् । उनले सबैले आफ्नो जिम्मेवारी पुरा गर्नतर्फ अगाडी वढ्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा महानगरमा रहेका विभिन्न कर्मचारी संगठनका नेताहरुले आ–आफ्नो भनाइ राखेका थिए । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत गरेको कार्यक्रममा प्रवक्ता मोतीराज तिमिल्सिनाले सञ्चालन गरेका थिए ।

पोखरा महानगरपालिकाले आफ्नो ७ औं स्थापना दिवश विभिन्न कार्यक्रमसहित मनाएको हो । वडा कार्यालय वरपर सरसफाई, शिक्षक सम्मान र रक्तदान, पोखरा घर शिलान्यास, पुल शिलान्यास लगायतका कार्यक्रम गरेर महानगरले आफ्नो स्थापना दिवश मनाएको महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जानकारी दिए ।

उनका अनुसार शुक्रबार र शनिबार महानगरका ३३ वटै वडा कार्यालय एवं वरपर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा सभागृहमा विद्यार्थी शिक्षक तथा विद्यालय सम्मान कार्यक्रम गरिएको छ । यसैगरी आइतबार विहान महानगरको न्युरोड स्थित मुख्य प्रशासनिक भवन बाहिर रक्तदान कार्यक्रम भएको छ ।

पोखरा ९ पृथ्वीचोकमा पोखरा घर शिलान्यास भएको छ भने पोखरा १९ मा खुइतेखोला पुलको शिलान्यास गरिएको छ । पोखरा सभागृहमा मुल समारोहका साथ स्थापना दिवश भव्यरुपमा मनाइएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए ।

  • २७ फाल्गुन २०८०, आईतवार २०:०४ प्रकाशित