युवराज शर्मालाई कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेद्वार बनाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्षको उम्मेद्वार बनाउने भएको छ । आइतबार बसेको संसदीय दल कार्यसमितिको बैठकले उनलाई आगामी २९ फागुनमा हुने राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित बाँकेका युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

शर्मा २०७८ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । शर्मालाई त्यसबेला कांग्रेसले लामो समयपछि न्याय दिएको थियो । शर्मा यसअघि २०४५ देखि २०४९ सम्म बाँके कांग्रेस सभापति भएका थिए ।

पञ्चायतविरोधी आन्दोलनमा होमिएका उनी २०२४ सालमा पहिलोपटक जेल गएका थिए । उनी त्यसपछि पटक पटक जेल परे ।

यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेसले सत्तासमिकरण बदलिएसंगै शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको हो ।

  • २७ फाल्गुन २०८०, आईतवार १९:१३ प्रकाशित