आर्टग्यालरी, पुस्तकालय र सूचना केन्द्र रहने पोखरा घरको शिलान्यास

५ करोड १ लाख ४६ हजार ५५१ रुपैयाँ लागत, पाँच तले भवनमा कहाँ के रहने ?

केन्द्रभाग मिडिया

पोखरा ।

आर्टग्यालरी, पुस्तकालय र पर्यटकीय सूचना केन्द्रसहितका पूर्वाधारयुक्त बनाइने पोखरा घरको शिलान्यास भएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक समारोहका बीच पोखरा घरको आइतबार विहान शिलान्यास गरेका हुन् । उनले एउटा घर बन्नु ठूलोकूरा नभएपनि पोखरा घरले समग्र पोखराको बिस्तृत जानकारी दिने केन्द्र बन्ने बताए ।

उनले पोखराको विकासका लागि आधार तयार गर्ने काम भएको उक्त अवसरमा जानकारी दिए । पोखरा घर परम्परागत बास्तुकला र पछिल्लो प्रविधिको प्रयोग गरिकन काठको बार्दली समेत रहेको बन्ने उनले बताए । पोखरा घर सञ्चालनका लागि विगतमा महेन्द्रपुलमा भत्काइएको जीर्ण भवनमा रहेका संस्थाहरुसंग नै सहकार्य गर्ने उनले प्रष्ट पारेका छन् ।

जीर्ण भवन कसैको नभएर पोखरा महानगरकै रहेको र पोखरा घर पनि महानगरकै बन्ने कुरा नविर्सन उनले संझाएका छन् । ‘महेन्द्रपुलको जीर्ण भवन भत्काउँदा आफ्नै घर भत्काएजस्तो गरियो । त्यो महानगरको थियो र सबै हिसावले अध्ययन गरेरै योजनासहित भत्काइएको थियो । कसैका निजी घर भत्काइएको जस्तो गरियो । त्यसो नगरियोस् । महेन्द्रपुलमा रहेका संस्थाहरुकै सहकार्य यहाँपनि हुनेछ । तर यो भवन महानगरकै भवन हो भन्ने नविर्सनुहोला’ उनले भने ।

प्रमुख आचार्यले पोखरा घर पोखरा घुम्नेहरुका लागि एउटा महत्वपूर्ण स्थल बन्ने र विस्तृत जानकारी दिने स्थल बन्ने बताए । पोखराका कला क्षेत्रका बादशाह दुर्गा बराल र प्राध्यापक विश्व श्रेष्ठलाई साँक्षी राखेर पोखरा घरलाई पोखराकै लागि उपयोग हुने र बन्ने महत्वपूर्ण संरचनाको शिलान्यास गरिएको उनको भनाई छ । पोखरा घरमा रहने घण्टा घरले आफूहरुलाई हरेक समयको महत्व बुझेर काम गर्न प्रेरित गर्ने उनको भनाई थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले भवन निर्माणका लागि स्रोतको कमि नहुने बताए । महानगरका प्रमुख आचार्यको नेतृत्वमा पोखरामा उल्लेख्य विकास निर्माणका काम भइरहेको र त्यसको रिजल्ट क्रमस देख्न पाइने उनले बताए । पोखरामा धेरै काम भएका तर प्रचार नभएको उनको टिप्पणी थियो। पोखरामा केही भएन भनेर भन्ने गरिएको सुनिएको छ । त्यस्तो होइन । पोखरामा धेरै काम भएका छन् र समग्र विकासको खाका बनेको छ । हामीले भएका कामको पनि प्रचार गरेका छैनौं । अब विस्तारै कामहरु देखिँदै जानेछन्’ उनले भने ।

पूर्वाधार महाशाखा प्रमुख सुरेन्द्र पाण्डेले पोखरा घर कस्तो र कति लगतमा बन्ने भन्ने जानकारी दिए । निर्माण कम्पनी कोजु इन्जिनियरिङ/आरुसी/एवीसी जेभीका सञ्चालक होमनाथ ढकालले निर्धारित समय भन्दा ५ महिना अगाडि नै भवन निर्माण गरेर सक्ने दृढता प्रकट गरे ।

पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले लामो समयको प्रतिक्षापछि पोखरा घरको शिलान्यास गरिएको बताए । पोखरा महानगरका प्रमुख आचार्यको सोच अनुरूप विकास निर्माणको काम अगाडि बढेको उनले धारणा राखे ।

  • ५ करोड १ लाख ४६ हजार ५५१ रुपैयाँ लागत

पोखरा घर निर्माणका लागि निर्माण कम्पनीसंग भ्याटबाहेक ५ करोड १ लाख ४६ हजार ५५१ रुपैयाँ ३९ पैसामा निर्माण गर्ने सम्झौता भएको छ । महानगरका पूर्वाधार विकास महाशाखाका प्रमुख सुरेन्द्र पाण्डेका अनुसार ६ करोड, ९३ लाख ४७ हजार २७० रुपैयाँ ७८ पैसा लागत अनुमान गरिएकोमा निर्माण कम्पनीले सो रकममा निर्माण गर्ने सम्झौता गरेको हो । निर्माण कम्पनील यस अगाडि पोखरा ७ को कार्यालय भवन निर्धारित समय भन्दा धेरै नै अगाडि सम्पनन्न गरेकाले समयमै सक्ने अपेक्षा राखिएको उनले बताए ।

  • पाँच तले भवनमा कहाँ के रहने ?

आइतबार शिलान्यास भएको पोखरा घरको निर्माण १८ महिना भित्रमा निर्माण कम्पनीले सक्नुपर्ने छ । अण्डर ग्राउण्डसहित पाँच तलाको बन्ने उक्त भवनमा अण्डर ग्राउण्डमा ३१५.६२ स्क्वायर मीटर क्षेत्रमा ४० वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने छ । २८४.४९ स्क्वायर मीटर क्षेत्रफलको पहिलो तलामा कोसेली घर र सूचना केन्द्र रहनेछ ।

३३४.८९ स्क्वायर मीटर क्षेत्रफल रहने दोस्रो तलामा पुस्तकालय र मिटिङ हल, ३३४.८९ स्क्वायर मीटर क्षेत्रफल रहने तेस्रो तलामा आर्ट ग्यालरी र मिटिङहल बन्ने छ । त्यस भन्दा माथि घण्टा घर रहने छ ।

 

  • २७ फाल्गुन २०८०, आईतवार १३:४१ प्रकाशित