मोटरसाईकल मोडिफाइगर्ने ६८१ जनालाई कारबाही

 ७ लाख ८२ हजार ७०० रुपैयाँ राजश्व उठ्यो, मोडिफाइ गरेका ५९ थान मोटरसाइकल अझै कास्की प्रहरी नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा कास्कीमा मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाउने ६८१ जना कारबाहीमा परेका छन् । गत २५ भदौदेखि हालसम्म २० फागुनसम्म ६ महिनाको अबधीमा मोडिफाई गरेर चलाउने मोटरसाइकल चालकबाट जरिवाना स्वरुप ७ लाख ४२ हजार ७ सय रुपैयाँ राजश्व संकलन भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगो समेत निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिई कारबाही गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

यसरी कारबाहीमा परेका ५९ थान मोटरसाइकल नियन्त्रणमा लिई आवस्यक कारबाहीको लागि कास्की प्रहरी परिसरमा राखिएको छ । स्वरूप परिवर्तन गरिएका मोटरसाइकल मध्ये पटके कारबाहीमा परेकाहरूलाई आवश्यक कारबाहीको लागि यातायात कार्यालय पठाउने गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरीनायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

उनका अनुसार पहिलो पटकमा परेकाहरूलाई मोडीफाई गरिएका सामानहरू फेर्न लगाई पहिलेको जस्तै बनाउन लगाउने गरिएको छ । उनीहरुलाई ट्राफिक नियम उल्लंघनमा जरिबाना गरेर अभिभावकको जिम्मा लगाई छाडिने गरेको उनले बताए । मोडिफाइ गराउने वर्कसप समेतको निगरानी गर्ने, पहिचान गर्ने र उक्त वर्कसप संचालकहरू समेतलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने गरेको उनले जानकारी दिए ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न वा घटाउन रंग परिवर्तन गर्न नपाईने व्यवस्था छ ।

  • २० फाल्गुन २०८०, आईतवार २०:४२ प्रकाशित