पोखरा १३ मा जब फेयर, करिब दुई हजारले गरे अवलोकन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा १३ मा जब फेयर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा उक्त फेयर भएको हो । फेयरमा करिब दुई हजारले अवलोकन गरेको वडाले जनाएको छ ।

स्थानीयलाई रोजगारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको फेयरलाई माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले उद्घाटन गरे । उनले जब फेयर कार्यक्रम राखेर वडाले सह्रानिय काम गरेको बताए । “जब फेयरको आयोजना गरेर वडाले सह्रानिय काम गरेको छ । उक्त कार्यक्रम मार्फत स्थानीय नागरिकलाई रोजगारी मिल्न सहज हुनेछ ।”, उनले भने ।

पछिल्लो समय युवाहरु १२ पढ्ने बित्तिकै विदेश जाने गरेको र देशमा आवश्यक दक्ष जनशक्ति हराउँदै गएको उनले उल्लेख गरे । यस्तो अवस्थामा जब फेयर जस्ता कार्यक्रम मार्फत देशमा नै केही गर्न सकिन सन्देश प्रवाह गर्ने धारणा उनको छ ।

वडाध्यक्ष किरण बरालले वडामा रहेका कोहिपनि युवाहरु बेरोजगार नहुन् भन्दै जब फेयरको अवधारणालाई अगाडि सारेको बताए । जब फेयरमा विभिन्न १२ वटा स्टल राखिएको थियो । जसमा विद्यार्थी देखि स्थानीयले अवलोकन गरेका थिए ।

जब फेयरमा इन्फोम्याटिक्स कलेजका विद्यार्थीले आफुले तयार पारेको सामाग्री प्रदर्शन गरेका थिए । वडामा नै उत्पादन गरिएको उत्पादित वस्तुहरुलाई प्रदर्शन गरिएको थियो । जब सेन्टरबाट आवश्यकता अनुसारको जबका लागि परामर्श दिइएको थियो ।

वडाध्यक्ष बरालले आगामी समय पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताए । वडाको भौतिक विकास सँगै सामाजिक, आर्थिक, नैतिक र शैक्षिक विकासमा समेत ध्यान दिइएको उनले उल्लेख गरे ।

वडाका वडासदस्य सरिफ अलिमियाँले स्वागत गरेको कार्यक्रमलाई वडाका सचिव अञ्जु गुरुङले संचालन गरेकी थिइन् ।

  • १८ फाल्गुन २०८०, शुक्रबार १७:०१ प्रकाशित