टी २० आई : नामिबियामाथि नेपाल ३ रनले विजयी

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिकोणात्मक टी २० आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ ।

जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे । ७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए ।

सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

  • १८ फाल्गुन २०८०, शुक्रबार १५:५९ प्रकाशित