गण्डकीमा अफ्रिकन स्वाइन फिभरको असर : डेढ बर्षमा ५० करोडको क्षति

प्रभावकारी जैविक सुरक्षा अपनाउन, संख्या घटाउन र विउ जोगाउन विज्ञको सुझाव

केन्द्रभाग मिडिया

पोखरा ।

अफ्रिकन स्वाइन फिभरका कारण डेढ वर्षमा गण्डकी प्रदेशमा ५० करोडको क्षति भएको छ । यो स्वाइन फिभरका कारण मरेका बंगुरको मूल्य मात्र रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकी प्रदेशमा २९ साउन २०७९ मा पहिलो पटक अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो । त्यस यता झन्डै १७ हजार अर्थात १६ हजार ५५४ बंगुर मरेका निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाई भट्टराईले जानकारी दिइन् । निर्देशनालयका अनुसार कास्कीमा मात्रै १५ हजार ३ सय ३८ वटा बंगुर मरेका छन् ।

शरीरमा निलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्ने, तुहिने जस्ता समस्या बंगुरमा देखिएको छ । ‘गण्डकीमा मरेका बंगुरको मूल्यमा हेर्दा ५० करोड देखिएपनि यसको क्षति धेरै नै भएको छ । हामीले त्यसको तथ्यांक निकालेका छैनौं । बंगुर पालक किसान निकै नै समस्यामा पर्नुभएको छ’ उनले भनिन् ।

गण्डकी प्रदेशमा यो अवधिमा २ पटकसम्म अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख वरिष्ठ पशुरोग विशेषज्ञ डा. किरण पाण्डेले दोस्रो पटकको संक्रमणमा कास्कीमा ५५, तनहुँमा ३०, लमजुङ १४, गोरखामा १३ वटा गरी १ सय १२ वटा बङ्गुर मरेका जानकारी दिए। ‘यसपालि क्षति कम छ । फिवरको संक्रमण नभएर होइन, बंगुर नै थोरै भएकाले क्षति कम भएको हो’ उनले भने । उनका अनुसार संक्रमण अगाडि कास्कीमा ५० हजार बंगुर रहेकोमा हहिले जम्मा ५ हजार बंगुर छन् ।

बंगुरको संख्या घटाउन र विउमात्र जोगाउन किसानलाई अग्रह गरिएको उनले बताए । ‘यसको कुनै उपचार नै छैन । प्रभावकारी जैविक सुरक्षा अपनाउने, संख्या घटाउने र विउ जोगाउने मात्र हो’ उनले भने ।

क्षतिपूर्ति ४ हजार, त्यहीपनि संक्रमण दोहोरिएपछि दिन नै समस्या

सरकारले अफ्रिकन फिभरका कारण बंगुर मरेमा किसानलाई प्रतिगोटा ४ हजार रूपैयाँ क्षतिपूर्ति दिन्छ । त्योपनि नगदमा नभई किसानलाई पुनस्थापनाका लागि बंगुरका पाठापाठी किन्न दिइने महानिर्देशक प्रेरणा सेढाई भट्टराईले जानकारी दिइन् । स्वाइन फिभर दोहोरिँदा किसानलाई त्योपनि दिन नपाइएको उनले बताइन् । ‘फिभरले बंगुर मरेमा जम्मा ४ हजार रुपैयाँ पुनस्थापनाका लागि दिने प्रावधान छ । नगदमा नभई बंगुरका पाठापाठी नै किनेर दिनुपर्ने र संक्रमण फेरी दोहोरिँदा त्यो पनि दिने अवस्था रहेन’ उनले भनिन् ।

रोग लाग्नबाट जोगाउन के गर्ने ?

अफ्रिकन स्वाइन फिभर रोगको हालसम्म कुनै प्रभावकारी उपचार उपलब्ध नरहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका महानिर्देशक डा. प्रेरणा सेढाई भट्टराईले बताइन् ।

फार्ममा जैविक सुरक्षाका विधिहरूको अवलम्बन गर्ने, बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ्ग पाउडर, फर्मालिन लगायतका निःसंक्रमणका औषधिहरू प्रयोग गरी निःसंक्रमण गर्न पनि उनले सुझाव दिइन् ।

यस्तै, रोगको शंका लागेका पशुहरूलाई बथानबाट छुट्याएर अलग्गै राख्ने, मरेको पशुलाई राम्रोसँग खाडलमा गाड्ने वा जलाउने, घरपालुवा सुँगुर, बङ्गुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने लगायत उपाय अपनाउन आग्रह गरिन् ।

रोग देखा परेको क्षेत्रबाट सुँगुर प्रजाति वा पाठापाठी, संक्रमित मासु र दानाको ओसारपसार नगर्ने वा नगराउन, अनिवार्य रूपमा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वस्थ सुँगुर, बंगु वा मासुको ओसारपसार गर्ने, सुँगुर, बंगुर तथा बँदेललाई होटेल रेष्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउने र तयारी दाना बाहेक अन्य आहारा खुवाउनु परेमा राम्ररी पकाएरमात्र खुवाउन उनको सुझाव छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् https://fb.watch/q9FT8d8oDP/

 

 

  • २९ माघ २०८०, सोमबार १५:३३ प्रकाशित