मुग्लिन–पोखरा सडक : पोखरा खण्डको कालोपत्र सुरू

केन्द्रभाग मिडिया

पोखरा ।

मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु भएको छ।

कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलामिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम सुरु भएको हो।

आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर नारायण पौडेलले पोखरा–३२ लामेआहालबाट अस्पाल्ट कालोपत्रको काम सुरु गरिएको जानकारी दिए।

उनका अनुसार यस क्षेत्रमा सुरुआतमा सात सय मिटर सडक कालोपत्र हुनेछ । अन्य बेस तयार भएका ठाउँमा समेत क्रमशः काम हुने उनको भनाइ थियो ।

‘सबै ठाउँमा कालोपत्र गर्न तयारी भएको छैन । सडक सम्माउने लगायतका काम जारी छन् । बेस तयार भएका ठाउँमा कालोपत्र गर्न सुरु गरेका हौँ,’ उनले भने।

मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम सुस्त छ । अहिले पोखरा खण्डको राजमार्ग क्षेत्रमा अधिकांश स्थानमा स्तरोन्नतिका लागि सडक फराकिलो बनाउने काम भइरहेको छ।

राजमार्गको सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने इञ्जिनियर पौडेलले बताए। आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म ६ लेन हुनेछ। यस खण्डमा भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग तथा स्थानीय सरकारलगायतको निरन्तर प्रयासले पछिल्लो समय काममा तीव्रता आएको हो।

यस खण्डमा लामो समय सडक क्षेत्राधिकारभित्रका बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरणमा ढिलाइ हुँदा आयोजनाको काम प्रभावित भएको थियो। निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि ठेक्का तोड्ने चेतावनीपछि कामले गति लिएको इञ्जिनियर पौडेलले जानकारी दिए।

गण्डकी प्रदेशको राजधानी समेत रहेको पर्यटकीय सहर पोखरालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडकका रुपमा पृथ्वी राजमार्ग रहेको छ। सरकारले यो राजमार्गको विस्तार तथा स्तरोन्नतिको काम अघि बढाएको हो।

  • २९ माघ २०८०, सोमबार १५:२१ प्रकाशित