विश्व कीर्तिमानी धावक केल्भिनको कार दुर्घटनामा ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पुरुष म्याराथनमा विश्व कीर्तिमानी धावक केन्याका केल्भिन किपटुमको कार दुर्घटनामा निधन भएको छ । पश्चिमी केन्यामा भएको दुर्घटनामा २४ वर्षीय केल्भिनसहित उनका प्रशिक्षक रुवान्डाका जार्भिस हाकिजिमानको ज्यान गएको बताइएको छ ।

एएफपी न्यूज एजेन्सीका अनुसार दुर्घटना आइतबार राति स्थानीय समयअनुसार ११ बजे भएको थियो । दुर्घटनामा अन्य एक जना घाइतेलाई अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार धावकले नै उक्त कार चलाइरहेका थिए । कारमा नियन्त्रण गुमेपछि दुर्घटना भएको र दुई जनाको घटनास्थलमा नै ज्यान गएको प्रहरीको भनाई छ ।

सन् २०२३ मा म्याराथनमा केल्भिनको उदय भएको थियो । गत अक्टोबरमा उनले सिकागोमा आयोजित प्रतियोगितामा इलुड किपचोगेको विश्व कीर्तिमान भङ्ग गरेका थिए । उनले ४२ किलोमिटरको म्याराथन २ घण्टा ३५ सेकेन्डमा पुरा गरेका थिए ।

  • २९ माघ २०८०, सोमबार ०९:५७ प्रकाशित